लघुकथा : फताङ्गे ट्वाँ

Photo 1

-रविन थपलिया, टोरोन्टो क्यानाडा

फताङ्गे धनी थियो तर लोभी थियो। अहिलेको जमानामा पनि कोहि माग्ने आए भने एक रुपैयाँ भन्दा बढी दिदैन थियो।एकदिन उस्ले सुन्यो कि पल्लो गाउँमा कहलिएका कन्जुस बाउछोरा बस्छन् । सबैले मलाई कन्जुस भन्छन् ती बाउछोरा कस्ता होलान्,एकपल्ट भेट्नु पर्यो भनेर उस्ले मनमनै विचार गर्यो।शनिबार साँझ पर्दा उ ती बाउ छोराको घरमा पुग्यो।

घरमा बाउ रहेनछन ।छोरो चै बाहिर बसेर आकाश तिर फर्केर हावा खाँदै हाँस्दै रहेछ। कहिलेकाहीँ पानी पनि पिँउदै थियो।फताङ्गेलाई लाग्यो – हावा पानी खाएरै रमाउने रहेछन त्यही भएर कन्जुस भन्या होलान् ।

एकछिन पछि एउटा हात नभएको माग्ने आयो। माग्नेले गहभरी आँसु पार्दै  भन्यो -“धेरै भोक लागेको छ हजुर केही खाना दिनोस।”छोरो माग्नेको नजिकै आयो, मुसुक्क मुस्कुरायो र हावामा हातको औंलाले दुईवटा ठुला ठुला स्याउ बनायो ।

” ल यहि स्याउ खाउ” भन्यो। माग्नेलाई यो कुरोले सार्है चित्त दुख्यो र रुदै त्यहाँबाट हिड्यो।फताङ्गेलाई अचम्म लाग्यो- मान्छे यति सम्म कन्जुस हुने रहेछन नि!झमक्क साँझ परेपछी बाउ घर आइपुगे ।हतार हतार छोरोलाई सोधे- कसैलाई केही त दिएको छैनस् नि ?

” एउटा माग्ने आएको थियो, हावामा औंलाले बनाएर दुइटा ठुलाठुला स्याउ दिए, बा” छोराले भन्यो।यो कुरो सुन्ने बित्तिकै बाउ अब रिसले आगो भयो।चिटचिट पसिना आयो।बुर्लुकबुर्लुक उफ्रिन थाल्यो। जोडजोडले चिच्याएर भन्न थाल्यो- “तैले मलाई कंगाल बनाउने भैइस्, माग्ने बनाउने भैइस् ,स्याउ दिइस् त दिइस् तर किन त्यति ठुलाठुला दिइस् , साना दिन सक्दैन थिइस कुलङ्घार” । 
फताङ्गे  ट्वाँ… उसलाई अब थाहा भयो -कन्जुस्याइँ के हो? गुरुमन्त्र सिकेर नबोली घर फर्कियो।

(साभार:सानैमा सुनेको)