मुटु र रगतविहीन मेरिना

Rajendra Karki

राजेन्द्र कार्की , भ्यानकुभर, क्यानाडा

‘हु वयर यु टकिङ्ग  टु?,’ मैले फोनमा मेरी श्रीमतीसँग कुरा गरिसकेपछि मेरिनाले सोधिन्।

‘माई वायफ। हुइच ल्याङ्गवज डिड यु स्पिक?,’ फेरि सोधिन्।

‘नेपाली।’ 

मेरिना मेरो फोन आउनुभन्दा अगाडि लन्च खाँदै मलाई बोल्ने मौका  नदिई बुलेट ट्रेनको गतिमा गफ हाँकिरहेकी थिइन्। फोन आएपछि बोल्न छाडिन् र गम्भीर भइन्। श्यामस्वेत वर्णकी मान्छेको अनुहार एकाएक रातो भयो। उनको अनुहारमा अचानक देखिएको परिवर्तन र भावभङ्गीले म छक्क परें। 

सोधें – ह्वाट ह्यापेन्ड? ह्वाई आर यु सो क्वायट अल अफ ए सडेन?  

उनले मेरो प्रश्नको उत्तर दिइनन्। केही क्षण चुपचाप बसिन् र घडी हेरिन्। लन्च टायम करिब-करिब सकिनै लागेको रहेछ। झस्किँदै भनिन् – नो, नो। इट्स ओके। लन्च टायम इज अल्मस्ट ओभर। लेट्स गो। 

सोचें – सायद मैले उनले नबुझ्ने भाषामा बोल्नु हुँदैन थियो कि! उनले नबुझ्ने भाषा बोलेर कतै उनलाई असहज भयो कि? त्यसो हो भने पनि उनका ससुरा युक्रेनी र सासु इरानी हुन्। के उनीहरू आफ्नो मातृभाषा बोल्दैनन् होला त? 

कता-कता डर पनि लाग्यो। 

फेरि सोचें – होइन, यो क्यानाडा हो। क्यानाडाको पनि भ्यांकुभर सहर। जुन सहर सप्तरंगी फूलबारी हो। त्यहाँ हरेक जात र रंगका फूलहरू छन्। त्यो फूलबारीमा कुन ठाउँ  र देशका भमराहरू छैनन् होला र? ती भमराहरू आ-आफ्नै सुर र तालमा बोल्छन्। गाउँछन् र नाच्छन्। 

मेरिनालाई दुई महिना अगाडि अफिसको लन्च रुममा भेटेको हो। श्यामश्वेत वर्णकी फरासिली र राम्रो जीउडाल भएकी आकर्षक तरुनी थिइन्। पहिलो दिन भेट्दा उनलाई इन्डिया अर्थात् भारतबाट आएकी होलिन् भन्ने सोचेको थिएँ। उनले पनि मलाई त्यही सोचेकी रहिछिन्।

पश्चिमी समाजका मान्छेहरू खुलेर बोल्न चाहँदैनन्। नयाँ मान्छेसँग झनै खुलेर बोल्न चाहँदैनन्। प्राइभेसी अर्थात् गोप्यता घनिष्टै भए पनि खोल्न चाहँदैनन्। कतिपयको त श्रीमान् श्रीमतीबीच पनि कयौं कुरा गोप्य रहन्छ। आफ्नो व्यक्तिगत एवम् पारिवारिक विवरण र बैंक खाता झनै गोप्य राख्छन्। तर, मेरिना त्यस्ती थिइनन्। भेटको सुरूमै उनी म सँग खुलेर कुरा गरेकी थिइन्। 

बेलुका घर पुगे। तर, मेरिनाले मलाई छाडिनन्। मेरा मनमा धेरै तर्कनाहरू खेले। म पुरुष। उनी महिला। पुरुष र महिलाबीच आकर्षण हुन्छ, त्यो स्वाभाविक हो। तर, त्यसरी मसित आकर्षित हुन उनलाई के जरुरी? फेरि म पनि कुन त्यत्रो रुपरंग र जीउडालको छु उनी म सँग आकर्षित हुनलाई! आखिर उनी पनि त विवाहित हुन नि, त्यो पनि भर्खरै विवाह भएकी। तन्नेरी र खाइलाग्दो केटासँग विवाह भएकी तरुनीलाई म सँग के को आकर्षण? सायद उनी अविवाहित र अधवैंसे भएकी भए पनि म विवाहित पुरुष रहेछु भनेर उनलाई नमज्जा भयो कि भन्नु। अनि म विवाहित हुनु र नहुनुले उनलाई के फरक पार्‍यो होला र! यस्तै तर्कनाहरूले मेरो मनमा घर गरिरहर्‍यो। 

तीन दिनको लामो छुट्टी थियो। त्यो दिन तिनको छुट्टी मेरा लागि तीन वर्ष लामो होलाजस्तो भयो। कहिले मंगलबार अफिसमा पुगौला र ‘मबाट के गल्ती भयो मेरिना’ भनेर सोध्ने खुल्दुलीले मलाई छाडेन। 

मेरिनालाई पनि मलाई जस्तै खुलदुली भएछ। उनले गरेको अनौठो व्यवहारले कतै म पो रिसायो कि? भन्ने उनलाई पनि लागेको रहेछ। मेरो खुल्दुली मेटाउन मैले तीन दिन कुर्न परेन। शनिबार बिहानै ‘हाई राज, क्यान यु ह्याभ फ्रि टायम टुडे?’ भन्दै मेरिनाले म्यासेज गरिन्। मैले ‘हुन्छ’ भनेपछि उनैले भेट्ने समय र स्थान टुंगो गरिन्।

मेरिनालाई इन्डियाको बारेमा धेरै कुरा थाहा रहेछ। भ्यांकुभर आएपछि अप्रिल १३ वा १४ तारिखमा सिखहरूले मनाउने वैशाखी हेर्न गएकी रहिछन्। नयाँ वर्ष र वसन्त ऋतुको फसल अर्थात् बालीनाली भित्र्याउने पर्वको रुपमा हरेक वर्ष सिखहरूले वैशाखी मनाउँछन्। त्यो पर्व भ्यांकुभरमा पनि मनाइन्छ। छुट्टै पोशाक र संस्कारमा सजिएर सिख पञ्जावीले मनाएको त्यो पर्व उनलाई अद्वितीय लागेछ। 

पहिरनले नै सिखहरूलाई चिनाउँछ। कहिल्यै नकाटिएका दाह्री र टाउकोमा बानिएको टर्वनले उनीहरुको छुट्टै पहिचान दिन्छ। चिनाउन पर्दैन। क्यानाडाको केन्द्रीय मन्त्रिमण्डलका रक्षामन्त्री र न्यु डेमोक्रेटिक पार्टीका नेता दुवै सिख हुन्। उनीहरू गर्वसाथ लामा दाह्री र टर्वनमा देखिन्छन्। 

मेरिनालाई भारतीय भन्दा पनि पञ्जावीको बारेमा धेरै थाहा रहेछ। आफूले देखेको भन्दा छुट्टै भेषभूषा, भाषा र संस्कार देखेर उनलाई लागेछ – यो संसारमा अर्को छुट्टै दुनियाँ पनि रहेछ। उनीहरूको छुट्टै पहिचान देखेर उनलाई आरिश पनि लाग्दो लाग्दो रहेछ। मनमा कताकता लाग्दो रहेछ – मेरो पनि यस्तै छुट्टै पहिचान र संस्कार भएको भए कस्तो हुन्थ्यो होला!

बेलाबखत उत्तेजित हुँदिरहिछन् र आफैंलाई प्रश्न गर्दिरहिछन् – अङ्ग्रेजको त्यति लामो उपनिवेशकालमा पनि कसरी इन्डियनले आफ्नो भाषा, धर्म र संस्कृति बचाउन सकेका होलान्? फेरि मेरा पुर्खाहरूले चाहिँ किन बचाउन नसकेका होलान्? 

म भ्यांकुभरको इगिंलिस बे पुगें। मेरिना पुगेर क्याक्टस क्लब नजिकैको प्रशान्त महासागरको किनारको फलैंचामा बसिरेहकी रहिछन्। गर्मी सकिएर अलिअलि जाडो सुरू भएको शरद ऋतुको अक्टोबर महिना थियो। समुद्रको वरिपरि किनारमा बनाएको बाटोलाई पनि फुर्सद थिएन। धेरै दिनको वर्षापछि घाम लागेकोले पनि होला, बाटोमा साइकल र मान्छेको लस्कर थियो।

दायाँबायाँका फलैंचामा प्रेममा डुबेका जोडीहरू टुक्राटाक्री वादललाई छिचोल्दै आएको पारिलो घामको आनन्द लिइरहेका थिए।

तातो घाममा सिरसिर चलेको हावाले शितलता थपिरहेको थियो। त्यो हावासँगै तरङ्गित हुँदै किनारसम्म आउँदै जाँदै गरेको समुद्रको छालले हामीलाई जिस्क्याउँदै गरेजस्तो लाग्थ्यो।  

प्रशान्त महासागरको किनारमा रहेको इगिंलिस बे आफैंमा भ्यांकुभरको सुन्दर ठाउँ हो। नजिकैका स्टेनले पार्क, इगिंलिस बे पार्क, सनसेट बीचपार्क र पारिपट्टीको भ्यानिर पार्कले त्यस आसपासका क्षेत्रहरूलाई अनुपम र सुन्दर बनाएका छन्। अझ त्यसमा पनि शरद ऋतुमा देखिने रंगीविरंगी पात भएका रुख विरुवाहरूले पुरै क्षेत्र सिंगारिएकी बेहुलीजस्तै देखिन्छ। प्रशान्त महासागरमा आवतजावत गर्ने पानी जहाज र झण्डा फहराएर हिँडेजस्तै देखिने सेलबोट (साना जहाज)हरूले जो कोहीको ध्यान त्यतातिर नखिचिरहन सक्दैन।   

प्रशान्त महासागरको पर पानीको बीचमा झण्डा फहराउँदै तीन वटा सेलबोट सँगसँगै देखिए। ती सेलबोटहरूले मेरिनाको ध्यान तान्यो र भावुक भइन्। उनलाई ती सेलबोटहरूले एकाएक सन् १४९२ को डिसेम्बर महिनामा पुर्‍यायो। त्यही महिना तीन वटा सेलबोट लिएर क्रिस्टोफर कोलम्बस उनको पुर्खाको भूमिमा पुगेका थिए। जुन भूमिको नाम थियो – इस्पा–वला, जसलाई स्पेनिसहरूले हिस्पानियोला नामकरण गरे। यो ठूलो टापुमा हाल दुई देश हाइटी र डोमिनिकन रिपब्लिक छन्। 

स्पेनका राजाको लगानीमा व्यापारका लागि हिँडेका कोलम्बसले सुरू गरेको स्पेनिस उपनिवेशको पहिलो भूमि अर्थात् डोमिनिकन रिपब्लिकबाट आएकी रहिछन् – मेरिना। उनी टाइनो मूलकी आदिवासी रहिछन्। 

क्रिस्टोफर कोलम्बस इटालीमा जन्मिएका सामुद्रिक कामदार तथा उद्यमी हुन्छन्। उनी सुनचाँदी, मसला र बहुमूल्य वस्तुको खोजीमा हुन्छन्। त्यही खोजीको लागि ‘इन्टरप्राइज अफ द इन्डिज’ नामक योजना बनाउँछन्। भारत, चीन र सुन तथा बहुमूल्य वस्तु पाउने एसियाका टापुहरूतिर जाने उनको योजना हुन्छ। तर, त्यो योजना कार्यान्वयनको लागि उनलाई लगानी चाहिन्छ। त्यसको लागि लगानीकर्ता प्रायोजक खोज्दै पोर्चुगलका राजा जोन द्वतीय कहाँ पुग्छन्, तर राजा जोनले प्रायोजन गर्न मान्दैनन्। 

पोर्चुगलका राजाले नमानेपछि उनी स्पेनका राजा फर्डिनान्ड र रानी इसावेलाकहाँ पुग्छन्। त्यहाँ पनि उनको योजना अस्वीकार हुन्छ। तर, जनवरी १४९२ मा स्पेनले दक्षिण पश्चिम युरोपको मोरिस किङ्गडम अफ ग्रानाडामा विजय हासिल गरेपछि कोलम्बसको प्रस्तावलाई स्पेनी राजा स्वीकार छन् र प्रायोजन गर्छन्। त्यसरी कोलम्वसको खोजीको यात्रा अर्थात् ‘भोयाज अफ डिस्कभरी’ सुरू हुन्छ।  

अगस्ट ३, १४९२ मा स्पेनको पालोस भन्ने ठाउँबाट कोलम्बस यात्रामा निस्कन्छन्। सँन्ता मारिया, पिन्टा र निना नामका तीन सेलबोटमा उनको टोली अक्टोबर १२ मा बहामासको वाटलिंग टापु पुग्छ। त्यसपछि क्युवा पुग्छ। क्युवालाई कोलम्बसले चीनको मुख्य भूमि ठाने। त्यसपछि डिसेम्वरमा मेरिनाको भूमिमा पुगेका उनले त्यो ठाउँलाई जापान ठाने। त्यहाँ कोलम्बसलाई मेरिनाका सोझा टाइनो पुर्खाहरूले स्वागत गरे। 

कोलम्बसले लिएर गएका तीनमध्ये एक सेलबोट बिग्रन्छ। सबै मान्छे फिर्न पाउँदैनन्। स्पेनबाट ल्याइएका केही मान्छेहरू छाडेर कोलम्बस सुन, मसला र कैदी बनाइएका  टाइनोलाई लिएर स्पेन फर्कन्छन् र त्यहाँ उनको भव्य स्वागत हुन्छ।   

कोलम्बस सन् १४९३ मा स्पेनबाट धेरै वटा जहाजमा ठूलो दलबलसहित पुनः क्यारेवियन टापु फिर्छन्। आफ्नै अनुरोधमा स्पेनका राजाबाट क्यारेवियन टापुको गर्भनरको पदवी लिएर फिरेका कोलम्बस इस्पा–वला अर्थात् हिस्पानियोलामा पसल खोल्छन्।

यसरी उनले हिस्पानियोला टापुमा पहिलो उपनिवेश स्थापना गर्दछन्। यसरी सुरू भएको स्पेनिस उपनिवेशले क्यारेवियन र दक्षिण अमेरिकामा लगभग छ सय वर्ष प्रत्यक्ष रुपमा शासन गर्‍यो।  

कोलम्बसको नेतृत्वमा गएका स्पेनिसहरूले टाइनोको नरसंहार गरे। उनीहरूकै भूमिमा उनीहरूलाई नै दास बनाए। खेतीयोग्य उब्जाउ भूमि खोसर लिए। भोकभोकै पारे र मारे। १४ वर्ष उमेर कटेका टाइनोलाई हरेक तीन महिनामा तोकिएको मात्रामा सुन र कपास बुझाउन पर्ने गरी काम तोकिन्थ्यो। बुझाउन नसक्नेलाई कोलम्बसको भाइ फर्नान्डोले हात काटिदिन्थ्यो। रगत बगेर नमरुन्जेलसम्म छाडिन्थ्यो। यसरी बोल्दा बोल्दै उनका गला अवरुद्ध भए।

मेरिनाको भूमिमा त्यतिखेर विफर थिएन। टाइनोलाई छिटो सिध्याउन विफर फैलाए। विफरसँग लड्ने  क्षमता टाइनोमा विकास भएको थिएन। उनीहरू त्यो रोगले पनि धेरै मरे। बीस लाख भन्दाबढी जनसंख्या भएको टाइनो बीस वर्षको अवधिमा केही हजारमा सीमित भए। जति बाँचे – तिनीहरू स्पेनिस, अफ्रिकी र अन्यसँग मिसिएर बसेकाहरू मात्र बाँचे। 

टाइनोहरू मारिएसँगै उनीहरूको इतिहास मर्‍यो। अब सही इतिहास पो कहाँ पाउनु र! मेरिनाले इन्डियन आर अस भन्ने पुस्तकका लेखक वार्ड चर्चिलको नाम लिँदै फेरि भनिन् – वार्ड चर्चिलले पूरै क्यारेवियनमा असी  लाख भन्दाबढी टाइनो  जाति थिए भनेका छन्। 

टाइनो जातिको नरसंहारसम्बन्धी केही थप इतिहास गुगलमा देखाइन्।  

टाइनो जातिको छुट्टै भाषा रहेछ। धर्म र संस्कृति रहेछ। भाषा चाहिँ एरावकन रहेछ। एरावकन कोलम्बस पुग्नभन्दा अगाडि बोलिने केही मुख्य भाषामध्येको एक रहेछ। जुन भाषा क्यारेवियन र दक्षिण अमेरिकी भू-भागमा बस्ने आदिवासीहरूको सम्पर्क भाषा रहेछ। 

टाइनोको आफ्नै धार्मिक विश्वास र रीतिथिति रहेछ। घरको भित्तामा भूमि र प्रकृतिको चित्र बनाएर आत्माको उपासना गर्ने चलन रहेछ। जसलाई ‘जिमी उपसना’ भन्दा रहेछन्। ड्यांग्रो ठटाएर धामी उफ्रेजस्तै उफ्रँदै परम्परागत भेषमा उपसना गर्दा रहेछन्।

तर, स्पेनिसको शासनकाल सुरू भएपछि उनीहरूलाई जिमी परम्परा अपनाउन दिइएन र जबरजस्ती क्याथोलिक चर्च मान्न बाध्य बनाइयो।

उनीहरूको भेषभूषा पनि छुट्टै रहेछ। केटा मान्छेहरू कछाड र लगौटी लगाउँदा रहेछन्। आइमाई मान्छेहरू नरिवलको फाइबर अर्थात् जटाको एप्रोनले शरीर बेर्ने रहेछन्। विशेष अवसरमा महिला-पुरुष दुवैले आफूलाई रंगाउँदा रहेछन्। गलामा सिक्री र नाक कानमा फुलीजस्ता गरगहना लगाउने चलन रहेछ। त्यस्ता गहनाहरू सुनले पनि बनेका हुँदा रहेछन्। 

टाइनोको भाषा र संस्कृति पूरै मेटाइयो। सन् १९९८ मा ‘अन्तर–आदिवासी प्राधिकरण’को नामले टाइनोको भाषा र संस्कृतिको पुन:स्थापनको लागि छाता संगठन गठन भएको रहेछ। तथापि, संगठनलाई कुनै पनि सरकारले आधिकारिक मान्यता दिएको रहेनछ। 

मेरो लागि उनका कथा पीडादायी थिए र सँगसँगै नयाँ पनि थिए। कोलम्बसको नाम र उनले नयाँ संसारको रुपमा अमेरिका पत्ता लगाए भन्ने मात्र मैले जानेको थिएँ। कोलम्बसका नरसंहारका पाटाहरू मलाई थाहा थिएन र कताकता विश्वास पनि लागेन। मैले त्यही कुरा उनलाई भनें। 

लामो स्वास फेर्दै उनले बोल्न सुरू गरिन्। स्पेनिसहरू कोलम्बसले नयाँ संसार पत्ता लगाए भन्दै महिमा गाउँछन्। अमेरिकामा उच्च सभ्यता फलेफूलेको छ। उनले गरेका ती ओजपूर्ण उपलब्धीका अगाडि उनीबाट भएका दोष र अपराधहरू केही होइनन्।

उनले मानव सभ्यताको विकासको लागि अद्वितीय खोजको काम गरेका छन्। कोलम्बसको नरसंहारको चर्चा गर्नु भनेको इतिहासको विकृत संशोधनसहितको आरोप हो– स्पेनिस र स्पेनिसका सन्तानहरू त्यसो भन्छन्। 

हिटलरले पनि भोक्सवागन बनाए, जसको निर्माणबाट सर्वसाधारणको कारमा पहुँच हुन सक्छ भनेर उनले देखाए। उनकै नेतृत्वमा जेट प्रपल्सन बन्यो र जसको कारणले रकेट टेलिमेट्रीमा महत्वपूर्ण प्रगति भयो। अनुवंशिक (जेनेटिक) इन्जिनियरिङको जग बसाले। त्यसो हो भने हिटलरका  नरसंहारलाई बिर्सेर उनले गरेका  उपलब्धिपूर्ण कार्यको किन उत्सव नमाउने? उनले आक्रोशित हुँदै प्रश्न गरिन्।   

कोलम्बसले वैज्ञानिक खोज र नि:स्वार्थ सेवाको लागि मात्र एटलान्टिक पार गरेका थिएनन्। उनी त केवल अरुको सम्पत्ति खोस्ने अभिलाषाले हिँडेका थिए। त्यो कुरा उनका डायरी, रिपोर्ट र पत्रहरूले नै बताएका छन्। आवश्यक र उपलब्ध जुनसुकै माध्यम अपाएर अरुको सम्पत्ति जफत गरेर स्पेनिस राजाको बैभव र आफ्नो सु-सम्पन्ता नै एक मात्र उद्देश्य थियो। हिस्ट्री नट टट इज हिस्ट्रीः कोलम्बस लेगासी अफ जेनोसाइड भन्ने एउटा लेख देखाउँदै भनिन्। 

अझ भनौं अस्तित्वविहीन बनाएर मारिएका टाइनोको बारेमा कसले सही इतिहास लेख्छ र! आखिर इतिहास त जित्नेको लेखिन्छ। मार्नेको लेखिन्छ। हार्ने र मर्नेको इतिहास कस्ले लेख्छ र? हिटलरले हार्दैनन् थिए भने उनीबाट भएका नरसंहारको चर्चा हुने थिएन। उनले भनिन्।   

मैले मेरी श्रीमतीसँग नेपालीमा फोन वार्ता गरेको सुनेपछि उनलाई नेपालको बारेमा थप जान्ने उत्सुकता जागेछ। गुगल सर्च गरिछन्। दुई ठूला राष्ट्रबीचको एउटा सानो देश, जुन देशको आफ्नै छुट्टै भेषभूषा, भाषा र संस्कृति रहेछ। त्यति सानो देश, त्यसमा पनि कहिल्यै कसैको उपनिवेश भएको रहेनछ। उनी छक्क पनि परिछन्।

मेरिनालाई लागेछ – नेपालीका पुर्खाहरू कति बहादुर रहेछन्। त्यत्रो संसार विजय गर्ने अङ्ग्रेजसँग लडाइँ लडेर आफ्नो भूमि जोगाएछन्। आफ्नो  भाषा जोगाएछन्। भेषभूषा र धर्म संस्कृति जोगाएछन्। नेपालीहरू कति गौरवान्वित होलान्।    

इतिहास सुनाउँदा सुनाउँदै मेरिना भित्रभित्रै मरेकी थिइन्। तर, मलाई गौरबसँग बाँचेको देख्थिन्। म संसारको शिर सगरमाथाको देशको मान्छे, त्यही भएर मलाई कसैले हराउन सकेन। मेरो भाषालाई कसैले मार्न सकेन। उनलाई त्यही लागेछ।  

हो मेरिना, नेपालीका पुर्खाहरूले लडे। आफ्नो भूमि जोगाए। बलिदान दिए। हिजोमात्र होइन, आज पनि नेपालीहरू बलि चढन तयार छन्। त्यसैले, त गोपाल योञ्जनको गीत नारायण गोपालको स्वरमा नेपालीका कानमा गुन्जिन्छन्। 

देशले रगत मागे मलाई बली चढाऊ 

रुँदिनन् मेरी आमा ऊ नेपालकी छोरी 

मेरिनाको कुराले म कता कता भावुक बने। मेरो मन भित्रभित्रै डरायो। नेपालीको भेषभूषा, भाषा र संस्कृतिमा धमिरा लागिरहेको छ। गौरवान्वित नेपालीहरूको गौरबको त्यो ओज सधैं रहला कि नरहला, त्यसमा शंका लाग्न थालेको छ। 

मेरिनाको आदि भूमिमा कोलम्बस आएजस्तै मेरो आदि भूमि नेपालमा कोही बाहिरबाट सिधै आएको त छैन, तर बाहिरियाका एजेन्टहरू भाइरस भएर फैलिएका छन्। भाषा, धर्म र संस्कृति भित्रभित्रै मारिरहेका छन्। भाइरससँग लड्न सजिलो छैन।

सजिलो हुने भएको भए दुनियाँमा हैकम चलाउने विश्वशक्तिका साम्राज्यहरू एउटा सानो कोरोना भाइरससँग किन रोइरहन्थे होलान्!      

देखिने शत्रुसँग लड्न सजिलो छ। देखिने घाउको रगत र पिप सफा गर्न सजिलो छ। तर, नदेखिने घाउका रगत र पिप सफा गर्न सजिलो छैन, जुन भित्रभित्रै पाक्छ। 

मेरो मन एकाएक खिन्न बन्छ । तीखा प्रश्नहरुले मन च्वास्स घोच्छन् राष्ट्रिय पोशाकको सूचीबाट दौरा सुरुवाल र साडी चोलीलाई किन हटाएको होला ? किन दौरा सुरुवालमा सामन्तीपन गनाएको होला ? मान्छेहरुलाई आफ्नो पहिचान र गौरवमा किन घृणा पैदा भएको होला ? फेरि कताकता लाग्छ, बाँदरले जस्तो भत्काउन मात्र जानेकाले बनाउन के जानुन र  ! आफू नांगिएपछि मान्छेले अरुलाई पनि नग्याउन खोज्दो रहेछ।

मेरिना र म इगिंलिस बे को क्याक्टस क्लबबाट निस्केर सनसेट बीचपार्कमा आइपुगेका थियौं। एक जना मान्छे नेपाली ढाकाटोपीमा देखिए। उनी नेपाली मूलका भुटानी रहेछन्। मेरिना उनलाई भेटेर दंग परिन्। कुराकानी गरिन् र सँगै फोटो खिचाइन्। 

बस, ट्रेन, पार्क र सार्वजनिक स्थलमा भुटानीहरूले गर्वका साथ नेपाली टोपी लगाएर हिँडेको देख्दा उनीहरू नेपाली भेषभूषा, भाषा र संस्कृतिका पहरेदार हुन् जस्तो लाग्छ।  

अब नेपाली भाषा पनि खै कति जीवित छ भन्नु? नेपालीमा लेखिएका गाडीका पेट नम्बरहरू धमाधम अङ्ग्रेजीमा रुपान्तरण हुन थालिसके। नेपालीमा अंक बुझ्नेभन्दा नबुझ्ने जमात ठूलो भइसकेको छ। अंग्रेजी नमिसाई शुद्ध  नेपाली बोल्ने मान्छे देख्नु र भेट्नु त अनौठोजस्तो भइसकेको छ।  

नेपाली भाषा  सिकाउन कुनै दिन विदेशीकै सहयोगमा नेपाली लोकगायिका अमेरिकी नागरिक आना स्टरजस्ता विदेशी विशेषज्ञलाई झिकाउन पर्ने त होइन  कता-कता शंका लाग्छ।  

मेरिनाले भावुक हुँदै भनिन्, ‘स्पेनले हाम्रो भूऔभाग त छाड्यो। तर, स्पेनलगायत युरोपबाट आएका मान्छेहरूले नै शासन गरिरहेका छन्। टाइनोहरू कहाँ छन् र त्यहाँ? एराकन भाषा कहाँ छ? जिमी संस्कृति कहाँ छ र? स्पेनिस भाषा छ। क्याथोलिक चर्चहरू छन्। सबै स्पेनिसहरूकै विरासत छ। हामीसँग अब न भाषा छ, न त धर्म छ, नत संस्कृति छ। त्यो सबै मरेर गयो। टाइनो आदिवासीहरूको बाँकी केही छैन।‘

मेरिना चार वर्ष अगाडि स्पेन घुम्न गएकी रहिछन्। उनले बोल्ने पनि स्पेनिस नै हो। उनले बोलेको स्पेनिसलाई स्पेनमा गिज्याउँदा रहेछन्।। स्पेनमा बोलिने स्पेनिस मात्र पहिलो दर्जाको भाषा हुँदो रहेछ। स्पेनबाहिर बोलिनेलाई दोस्रो तहको भाषा मानिँदो रहेछ।

मेरिनाले फेरि भनिन्, ‘भाषा भनेको मुटु हो र संस्कृति भनेको रगत हो। भूमि भनेको त एउटा शरीर न हो। मुटु र रगत विहिन शरीरको के काम? त्यो त खाली एउटा डमी हो डमी। पहिचानविहीन भूमिले मात्र मान्छेको स्वाभिमान हुन सक्दो रहेनछ। हेर राज, भूमि त फिर्ता हुन सक्ने रहेछ, तर मरेर गएको भाषा र संस्कृति सधैंका लागि मरेर जाँदो रहेछ, कहिल्यै फिर्ता हुन नसक्ने रहेछ।’