बाल कथा: बाङ्गेको सत्ता

Photo1

 -प्रा डा.राजन प्रसाद पोखरेल, टोरोन्टो, क्यानाडा       

ड्याङ्ग ड्याङ्ग ड्याङ्ग; ड्या ङ्ग ड्याङ्ग ड्याङ्ग, ढ्वांग ।

“ए बुबा ढोका खोल्नुस ! खोल्नु भएन भने म यो ढोका-सोका फोडी दिन्छु।“

“किन? के भयो? किन खोल्नु पर्यो ढोका?”

“तपाई ढोका बन्द गरेर आफ्नो कम्प्युटरमा के गर्दै हुनुहुन्छ?”

 “टाइप गर्दै छु। मेरो आफ्नो काम गर्दै छु।“

 “मलाई तपाईको कम्प्युटरमा टाइगर र लाइनको फाइट हेर्नु छ। मलाई स्नेक फाइट हेर्नु छ।“

 “अहिले म बिजी छु छोरा, अहिले एकछिन पछि तलाई म तैले भनेको फाइट देखाई दिन्छु।“

“होइन मलाई अहिले नै चाहियो, चाहियो, चाहियो।“

 मैले ढोका खोलें ।अनि  मैले  आफ्नो काम रोकेर उसलाई उसले भनेको भिडियो खोल्दियें। एक छिन हेरे पछि अब उसले “यो तलको खोल्नुस” भन्यो, “मलाई हनुमानको भिडियो  हेर्नु छ” भन्यो। एकछिन  हनुमानको भिडियो  हेरे पछि “महादेवको चाहियो”। महादेव पछि “गणेशको हेर्छु” भन्यो। गणेशको पनि खोलि दिएँ । त्यसपछि उ मलाई गणेशको बारेमा के के कुरा सुनाउन थाल्यो। “थाहा छ? गणेशको त पुजा गर्नु पर्छ। म त सपनामा गणेश जी लाइ कत्ति देख्छु। ओम गनेशाये नमः” भन्दै भिडियोको गणेशलाइ नमस्ते गर्न थाल्यो।

“लौ, भयो अब जा न त । मलाई काम गर्न दे।“

“अहिले यहि बस्छु। मलाई के के हेर्नु छ म सम्झन्छु।“

 “लौ बस त बस, जे जे हेर्नु छ, सम्झेर मलाई भन।“ मैले आफ्नो काम गर्न खोजें। “अहिले भिडियो बन्द नगर्नुस है,” भनेर  उसले अल्झाएको अल्झाकै गर्यो।

“लौ हेर त भनेर”  म टि भी कोठामा गएँ। उसले टि भी मा कार्टून भिडियोहरु हेर्दा हेर्दा मलाई डिस्टर्ब गर्न गएको थियो। एक छिन पछि फेरी मेरो अघिको कार्टून हेर्नु छ भनेर रिमोट आफ्नो नियन्त्रणमा लियो। यो मलाई हैरान खेलाउने केटो अरु नभएर मेरो एउटा सानु भतिजो हो। अहिले उ साढे  छ् वर्षको छ । उसका कुरा सुन्दा त उ साठी वर्षको जस्तो लाग्छ । म मेरो भाईको परिवार संग मिलेर बस्छु। मेरा परिवार छोरा छोरी विदेश गएका छन्। फुच्चेले टिभी पनि हेर्न दिएन। कोठामा आएर बत्ति निभाएं, पंखा चलाएँ र एकछिन पल्तिनु पर्यो भनेर पल्टेको त राति साढे बार्ह बजे ब्युझेछु। मलाई एउटा पत्रिकाको स्तब्भ  लेख्नु थियो, र एउटा सेमिनारमा प्रस्तुत गर्नु पर्ने कार्यपत्र लेख्नु थियो। दुवैको डेडलाइन हर्किन लागेका थिए। बिहान छिट्टै उठेर लेख्नु पर्ला भनेर सुतें । बिहान उठ्दा त त्यो फुच्चे टि भी मा भिडी सकेको रहेछ। “ओइ, टि भी हेर्न थालि सकिस ?” उसले म तिर फर्केर पनि हेरेन । म पत्रिका लिन जान बाहिर निस्कन लागेको त उसले भन्यो, “बुबा, आज मेरो साथी यांखुको बर्थ डे छ  । म उसलाई चकलेट  लगी दिन चाहन्छु । मलाई १० रुपिया दिईस्यो है ?”

“तेरै बाउसंग  माग न ।“

 “बाबाले ५ रुपिया मात्रै दिनु हुन्छ, हजुरले नै दिस्यो न।“

 “ल ल म नै दिउला । आज तेरो होम वोर्क गर्नु छैन?”

“मेरो आज स्कुल छुट्टी छ।“

 “के को छुट्टी?”

 “खोइ कुन्नि, ममी लाइ थाहा छ? के को छुट्टी, ममी?”

 भित्र बाट उसको ममीले भनिन, “शैक्षिक हड्ताल अ रे, खोइ कुन्नि कसले गरेको थाहा छैन।“

‘यीं हड्तालीहरुले त अचाक्ली गर्न लागि सके। यिनीहरुलाई खाली पैसा चाहिन्छ। पैसाका लागि बार्गेनिंग हो, पैसाका लागि। मलाई थाहा छ यिनीहरुले पैसाका लागि गरेका हुन् यो कुरा।‘ भन्दै म भित्र भित्रै मुर्मुरिएं। 

केही महिना पहिले  म एउटा चौतारीको फलैचामा दिउसो हिड्दा हिड्दै पुगेको थिएँ । एक छिन आराम गर्नु पर्यो, सित्तल मा बस्नु पर्यो भनेर बसेको, त्यहाँ बसिरहेका मानिसहरुले कुरा गर्दै थिए, ‘बाबुआमा दुवै जना अफिसमा काम गर्दा रहेछन, खोइ कुन चाही राजनीतिक पार्टी नजिकका संगठनले स्कुल हड्ताल गरेका हुन् कुन्नि, बाबु आमाले केटा केटी यहाँ चौतारीमा छोडेर अफिस गएका रहेछन। दिउसो एक चोटी आएर खाजा पनि ख्वाएर गएछन । छोरो चाही चकलेट किन्न बाटो पारी कुद्देर गएछ। मोटर साइकलले हान्दिएछ, यहाँ बस्ने एकजना मान्छेले मोटर साइकल वालालाइ लिएर घाइते बच्चालाइ अस्पताल पुर्याएछन । छोरी चाहीसंग बाबुको फोन नम्बर रहेछ । एक जना मान्छेले बाबुलाई फोन गर्दियेछन। बाबु अस्पताल पुगेछन । धन्न, सिरियस केहि भाको रहेन छ बच्चालाई । हल्का उपचार गरेर घर ल्यायेछन। कस्तो बिजोक !”

मैले सोधें,  “कहिले भाको कुरा हो” भनेर मैले सोधें।

“आजै क्या आजै, अघि २।३ घण्टा अगाडी । केटा केटी स्कुल जान पाएको भए त त्यस्तो हुदैन थ्यो नि । अन्त कति ठाउँमा त्यस्तो भएको होला। जनताको भलो गर्न हड्ताल गरेको भन्छन। भित्रि कुरा के छ थाहै हुदैन । बरु पुरै एक महिना बन्द गरि दिनु नि, एउटा न एउटा बन्दबस्त त गर्छन नि अभिभाबकले “ त्यहां बसेका एक जना मान्छेले बताए ।

 पत्रिका लिएर फर्कदा फुच्चे लाइ ८/१० वोटा चकलेट लगी दिनु पर्यो भनेर ल्याई दिएको । केटो बाहिर बारीमा खेल्दै रहेछ ४।५ जना साथीहरुसंग । मैले उसलाई म संगै घर आउछ होला कुदेर भनेर सुटुक्क चकलेट देखाएँ । “यहीं    दिनु” भन्यो। चकलेट त मैले हेर्दा हेर्दै सब्बै साथीहरुलाई पो बाँड्यो। घर आएपछि मैले  “किन बाँडेको भनेको त?” भनेर सोधें  । उसको जबाफ थियो, “कस्तो मेहनतले यीं साथीहरु बनाएको छु, म संग एकदम मिल्छन , दिन्छु त।“ म त उसको कुरा सुनेर छक्क परें।

उसको र मेरो एक किसिमको द्वन्दात्मक सम्बन्ध छ घरमा। म टेलिभिजन  हेर्न जाँदा उसले मलाई रिमोट छुनै दिदैन। खोस्न खोज्दा गाउं नै थर्काउने गरि कराउछ। कहिले कहिँ त महत्वपूर्ण समाचार हेर्नु पर्ने हुन्छ । कुनै कुनै अन्तरबार्ताको अगाडी देखि नै प्रचार भएको हुन्छ। हिजो आज गाउं घर तिर टि भी हेर्न जाने चलन छैन । बिन्ति भाउ गर्दा पनि मान्दैन। चकलेट देखायो, खोसेर खाई दिन्छ, तर टि भी मा त ढीम्किनै दिदैन। राति हेर्छु भन्ने सोच्दा पनि हुदैन, किन भने उ म भन्दा ढिलो सुत्छ । एक छिन टि भी मा लडाइ गरेर कम्प्युटर चलाउन आउछु, संगै आउछ र “हनुमान देखाउनुस, गणेस देखाउनुस” भन्छ । कति सम्म भने म टोइलेट गएको बेला नै उसलाई पनि टोइलेट जानु पर्छ । बाहिरबाट ‘आका आयो’ भनेर कराउछ र ढोकामा लात्तले हान्छ। उसका बाबु आमाले बारीमा गएर आका गर्न त भन्दा लाज हुन्छ भन्छ । कहिले कहिँ त म राति सुतिसकेको हुन्छु, उसले मेरो कोठाको ढोकामा ढंग ढंग गरेर मलाई उठाउछ र सोध्छ “आज मलाई के ल्याई दिनु भो?” आकस्मिक समाधानको लागि एकदुई वोटा चकलेट त लुकाएर राखेकै हुनुपर्छ ।नत्र बित्यास पार्छ। हरिया मकैको सिजनको बेला मैले कहिले कहिँ बाटामा मकै पोल्दै गरेको ठाउँ बाट सर्लक्क परेको पोलेको घोगो छानेर उसलाई ल्याई दिन्छु। उसका बाबु आमा “हामीलाई पनि अलि अलि टुक्रो भाचेर दे न” भनेर बिन्ति गर्छन । कसैका कुरा न सुने जस्तो गरेर खुरु खुरु खान्छ , अनि कहिले कहिँ त खाँदा खादै गलेर भुसुक्क निदाउछ , अनि उसले छोडेको टुक्रा उसका बाबु आमाले बाँडेर खान्छन।

उु निदाउन लागेको बेला पनि उसले हेर्दै गरेको कार्टूनको च्यानेल अर्को तिर लगायो भने उठेर एकै छिनमा भांड भैलो मच्चाउछ । पल्लो घरकी उसकी संगै खेल्ने एकजना दिदी छन् । तिनी उ भन्दा करिब ६ महिना जेठी होलिन । कहिले कहिँ लिएर आउछ र मेरी दिदी भनेर चिनाउछ । मलाई पनि उनलाई उसले दिदी भन्न लगाउछ, र म पनि उसकी तीं  दिदीलाइ दिदी नै भन्छु। यो केटाको खास नाम के हो, मलाई थाहा छैन। उसको स्कुलमा के नाम लेखाएको छ सोध्न भ्याएको छैन। मैले आबश्यकता र परिस्थिति अनुसार फुच्चे, डल्ले, पुड्के, काले भन्ने गरेको छु। काले भन्दा अलिकति अनुहार खुम्च्याउछ , किन भने उ अलि कालो कालो बर्ण कै छ । कहिले कहिँ “तेरो नाम के हो” भनेर सोद्धा “प्रिन्स हो” भन्छ । प्रिन्स भनेको के हो भन्दा “त्यति पनि थाहा छैन बुद्दु” भनेर हप्काउछ । “राजकुमार भन्ने पनि थाहा छैन ?” भनेर मलाई गिज्याउछ र मलाइ तानेर लगेर भित्तामा टाँगेको उसको फोटो देखाउछ र भन्छ, “के म यहाँ प्रिन्स जस्तो लाग्दिन? म प्रिन्स नै हुँ” भनेर उ आफ्नो नक्कली तरबार भिरेर आउछ र मलाई तर्साउछ । उ संग एउटा फुच्चे राजकुमारलाइ चाहिने तरबार, बन्दुक, हात्ती, घोडा, उंट सबै छन् । मैले कहिले कहीं उसका बाबु आमालाइ “यसलाई यसो बजार तिर घुमाउन लैजाओ न” भन्दा उनीहरु भन्छन, “यो त ड्यानजर बोइ हो। यसलाई बजार लग्यो भने त यो किन्दे कि त्यो किन्दे भनेर रंडाको मच्चाउछ । तलब आएको बेला महिनाको एकचोटी लैजाने गरेको छ, त्यो पनि थेग्न थाम्न सकिन्न ।“ उनीहरु भन्छन “चस्मा त यसले २।३ दिनमा फेर्छ । भांच्छ,    हराउछ, बिगार्छ अनि फेरी किनी दिई हाल्नु पर्छ । चस्मा नलगाई कन यो कतै निस्कन मान्दैन।“  

हिन्दी कार्टून मुभी हेरेकोले यसले हिन्दी पनि बोल्न जान्न थालेको छ । कहिले काही त ठ्याक्कै प्रिन्स जस्तो भएर आएर मेरो कोठाको ढोकामा उभिन्छ र  हिन्दीका डाइलोगहरु बोलेर मलाई धम्क्याउछ ।उसलाई होम वोर्क गर्ने भन्ने कुरा पट्टक्कै मन पर्दैन । होम वोर्कको कपि पेन्सिलमा “अल्छी लाग्ने दबाई मिलाएर बनाएको हुँदो रहेछ कि क्या हो,” भन्छ। पेन्सिल समात्यो कि हाइ हाइ गर्छ। बाहिर फेर अरु केटा केटी बोलेको कुदेको सुइँको पायो भने दौडी हाल्छ । अझ उसका बाबु आमा ओल्लो पल्लो घरका छिमेकीसंग बोलेको सुन्यो भने त बढ्ता बाठो भएर “के भयो, के कुरा गरेको?” भनेर सुर्रियेर अगाडी अगाडी धुरा पस्दै जान्छ।

शहरमा केटाकेटीहरु खेल्ने कुद्ने ठाउँ सानो भएकोले उनीहरु धेरै दौडिन पाउंदैनन । दशैं तिहारमा जब हामी गाउँ जान्छौं, त्यसबेला त्यहाका केटाकेटीसंग कुदने कोशिस गर्छ ऊ, सक्दैन, लड्छ र फेरी उठेर कोशिस गर्छ। सहरमा हुँदाको उसको राजकुमारको धाक गाउँमा उल्टो हुन्छ। कुददाखेरि उसको जिउ बाङ्गिदो रहेछ। त्यसपछि मैले उसलाई  “बाङ्गे” पनि भनेर बोलाउन थालें। गाउँमा बाङ्गेको हालत पतला भयो। शहरका उसका साथीहरुका अगाडी मैले उसको हुर्मत लिई दिन्छु भनेर ऊ छुल छुल भाको छ । बिस्व कप फुटबलको बेला अरुको सिको गरेर उसले पनि ब्राजिलको जस्तो टि सर्ट किनी मागेछ। एउटा सानु फुटबल पनि ल्याएछ । उसलाई त्यो कुन देश को भेस्ट हो भन्ने नै थाहा छैन । अर्जेन्टिनालाइ समर्थन गर्ने मेरो अर्को भाईको छोरालाइ मैले फुच्चेको कुरा सुनाई दिएँ । उसले भन्यो, “त्यो फुच्चेलाइ केहि थाहा छैन ।“  मैले फेरी त्यो कुरा फुच्चेलाइ सुनाएँ । उसले मेरो कोठामा उसको फुटबल लिएर आयो र ब्वाङ्गै हानेर झन्नै दराजको सिसा फुटाइ दियो । मैले उसलाई आफ्नो रिस पोख्न नपाउदै उसले मलाइ भन्यो, “अब त थाहा भयो, मलाइ फुटबल खेल्न आउँछ भनेर” भन्दै सान संगले उसको भकुण्डो बोकेर बाहिर गयो।

उसको र मेरो द्वन्द परेको दिन उसले टोलका थुप्रै केटाकेटी बटुलेर ल्याएर बरन्डामा खेल्छ। यो उसले उसको शक्ति भेला पारेको हो भन्ने मलाई थाहा भैल्हाछ। म मेरो कोठामा ढोका थुनेर बस्छु र आफुलाई सिमित गर्छु। मलाई थाहा छ ‘सत्ता कति क्रुर हुन्छ’ भनेर । उसले मलाई घेरा बन्दीमा पार्न सकेकोमा भित्र भित्र गर्ब महसुस गरेको होला । म त्यसबेला बाहिर निस्कन सक्दिन किन भने उसले आफना साथीहरुको बलमा मेरो हुर्मत  लिन सक्छ भन्ने डर हुन्छ मलाई । फुटबलको बिस्वकप हुने बेलुका मैले उ संग टि भी को रिमोट मागें । उसले मलाई रिमोट दिन इन्कार गर्यो । मैले उसलाई “तं पनि तेरो टि सर्ट लगाएर आएर फुटबल हेर” भनें । तर उसले उसको कार्टून फिलिम न छोड्ने कुरो गर्यो। मैले उसको हातबाट रिमोट खोसें। उता खेल सुरु हुन लागि सकेको मलाई भान भैसकेको थियो। एक छिन निकै छिना झपटी र लडाईं पर्यो। त्यसपछि उ बेस्सरी रुन थाल्यो। घरै थर्कायो। उसका बाबु आमासंग गुहार माग्यो। धेरै बेर बेस्सरी चिच्याएर रोयो । अनुहार रातो निलो पार्यो । आँसु र र्यालले उसको अनुहार पोतियो। तर पनि मैले उसलाई रिमोट दिइन। अरुबेला उसले चुँ गरेको सुन्दा पनि मैले उ किन रोयो होला भनेर  सोध्थें । तर आज उसले घरै थर्काउदा पनि मैले वास्ता गरिन, टेरिन। किन भने यो उसको र मेरो सत्ता संघर्स थियो। मैले म्याच हेरेरै छाडें । भोलि पल्ट बिहान उ  बैठक कोठाको सोफामा पल्टी रहेको रहेछ । मैले उसलाई जिस्क्यायें, “कस्तो लाग्यो त, हिजो बेलुका त मैले तेरो सत्ता पल्टाई दिएँ नि?” उ मेरो मुखमा पनि नहेरी कन उता फर्केर मुख छोपेर हारेको राजा महाराजाले जस्तो लाजले पल्टी रह्यो। मैले उसलाई  कोट्ट्याएं, काउकुती लगाएँ, तर पनि उ घोप्टो परेर सुति रह्यो। शायद उ म संग कुनै दिन बदला लिने कुरा सोची रहेको होला। उ आफ्नो बिजयको ताना बुना बुन्दै होला ।