लज्जाबोधमा मृत्यु

Rajendra Karki

राजेन्द्र कार्की,भ्यान्कुभर, क्यानडा

मृत्युले काम पाएको छ
विज्ञापनले ठाउँ पाएको छ
मृत्यु बजारभरि छरपस्ट छ
चिर शान्ति र बैकुण्ठ बास
एकाएक जताततै छाएको छ
कामनै-कामनाले ढाकेको छ ।

मृत्य आफैँ आश्चर्यमा छ
जीवनमा किन एकपटक?
पटक-पटक भइदिएको भए
मालाहरुमा सधैँ सजिने थियो
प्रशंसाका थुँगा बर्सिने थियो
सदासर्वदा छाइरहने थियो ।

कति दंग मृत्यु छ आफैँसँग

अपरिचितहरु परिचित भए
नदेखिएकाहरु देख्न आतुर छन्
नभेटिएकाहरु भेट्न आतुर छन्
आतुरताको त्यो बाँध फुटेर
एकाएक बाढी आएको छ ।

यस्तो सुन्दर क्षण आउँछ
विचरा मृत्युलाई के थाहा?
नत्र क्षण-क्षण जिउनुको पीडा
अनि त्यो पीडाले बनाएका घाउ
चहर्याउँदै किन जिउँथ्यो होला?
शायद पीडाका हरेक क्षणमा
सुन्दर मृत्य वरण गर्थ्यो होला

अहो ! कस्तो भाग्यमानी मृत्यु
जो बाँचुन्जेल अभागी थियो
पलपल भय र कुण्ठामा थियो
नजरविहीन थियो
बाँच्नुको पीडाले आहत थियो
एकाएक भाग्य चम्केको छ
उसको भाग्यमा दुनियाँ रमेको छ
विज्ञापनको बजार चम्केको छ ।

बाँचुन्जेल
तातो खोले र पानीको आसमा
चिसो कुनामा कतै तड्पिदै
मृत्यको द्वारमा पुग्दा
नदेख्ने सन्तानहरु मृत्युसँगै
दानी बनेका छन्
समाजसेवी बनेका छन् ।

मृत्युको कल्पनै नगर्ने
मिठो वचनका कन्जुस आफन्तहरु
दयाको भिख माग्दा तिस्कार गर्ने इष्टमित्रहरु
दलान र सामजिक संजालमा देखिएर
निर्जीव तयारी शब्द अनि संकेतमा
उही धुनको उही सारंगी रेट्दै
शान्त मृत्युलाई गिजोल्छन्
धेरै नगिजोल र अशान्त नबनाऊ
भो बन्द गर तामझामका नाटक
मुर्छित र लज्जाबोधमा छ मृत्यु ।