‘म’ मान्छे होईन

Dharma Photo

धर्म केसी, टोरोन्टो, क्यानडा

आमाको कोख देखि आमाको काखमा आईपुग्दा,
म एउटा मान्छे, म हिन्दु र म एउटा नेपाली ।
निरन्तर, हलपल
मेरो तातेतातेमा, मेरो बोलिबोलिमा र मेरो लुगाफाटोमा
‘म’ मबाट टाढा हुँदै गयो, अदृश्य हुँदै गयो।

वुवा आमा, समाज हेर्दै सिक्दै,
मैले घोकेको मेरो शिक्षा र देखिएको मेरो व्यक्तित्व
मान्छेको खोल बाहिर
भ्रमको रङ्ग मञ्चमा, उभिएको यो कैदी लाई,
देशको सिमामा चोट्लाग्दा
दुख्ने बनाइयो ।
प्रियजनको सुख-दुखमा,
हास्ने रुने बनाइयो ।
सामाजिक मापदण्डमा ,
वा-वा, छि-छी को पात्र बनाइयो ।

यही दलदल्मा, छलकपटमा र अज्ञानतामा
शिक्षा र ज्ञानको लोभमा
सत्यताको बाटो रोकियो ।
अनुशासनको परिधिमा बाधेर्,
यो कैदिलाई दासत्व सिकाइयो ।

जन्जिर्, वाधा-अड्चन अनि सिमाहरुले बाँधिएको
र अन्धकारमा रुमलिएको यो मान्छे
एउटा सानो दियो जलाउदै,
‘मेरो’ खोजिको यात्रामा निस्केको छ ।
मलाई ओडाइएको मान्छेको खोल च्यात्नलाई,
मान्छेको खोलमा टासिएका मेरा परिचयहरु
एउटा एउटा गर्दै मेटाउनलाई
र त्यो खोल भित्रको ‘म’ भेट्नलाई ।

यो मान्छेलाई मेटाएर भेटिएको मेरो अस्तित्वमा
सुख र दु:खको समान अनुभुतिमा
घाम र छायाको समान चाहनामा
उकाली ओरालिको समान गतिमा
कहींकतैबाट निशब्दमा भन्नु छ –
‘म’ मान्छे होईन , ‘म’ मान्छे होईन ।