मेरो देश आज पीडामा छ

10668835_682026628554895_7748291732273923704_o

शिशिर पाण्डे

मेरो देश आज पीडामा परेको छ
दल अनि गुटको
एकआपसी घृणामा परेको छ।

कहिले नाकाबन्दी सृजित
अभावको मारमा परेको छ
कहिले छिमेकीको कुदाई र गुडाईको
भार सहन गर्नु परेको छ

अनि दैवीप्रकोप र महामारीको
चपेटाले कक्रिएको छ
मेरो देश आज पीडामा परेको छ

यहाँ,
कोही जीवनका मार्मिक पीडाको भारी बोकी
गन्तव्यहीन यात्रामा हिंड्नु परेको छ
मर्नु न बाँच्नुको दोसाँधमा
जीवनका भयंकर सपना देख्दै
पराई भूमिमा भासिनु परेको छ

रोग र भोकको अन्तहीन छ्टपटाहटले
मूर्छित हुनु परेको छ
पसिनाको मूल्यको भीख माग्दै
सडकमा लम्पसार पर्नुपरेको छ

लुटिएका अस्मिताहरु
अन्याय  र अपमानको बिष
घुटुक्क पार्दै जिउनु परेको छ।

विडम्बना,
कतै भने अर्थहीन कुरुप
नाटक मन्चन गरेको छ
जहाँ न सिद्धान्त न बिचार
न त पार्टीकै अस्तित्व बचेको छ

आखिर पालैपालो कारबाही
अनि वाहवाहको अन्तहीन शृंखला चलेको छ
शक्ति र सम्पत्तिमा दाईँ लाउन
चाकडी र षडयन्त्र गरेको छ

आश्वासनको भेल, झूठको खेती बनेको छ
फकाउने झुक्याउने अनि
जालझेलको खेल सधैं चलेको छ

राजनीतिको विकृत खेलले
देश चिराचिरा परेको छ
मेरो देश आज पीडामा परेको छ

छिमेकी राष्ट्र विश्वशक्तिमा दर्ज हुँदै गरेको बेला
सिटामोल र जीवनजलका लागि
विदेशीसामु लम्पसार पर्नुपरेको छ

उद्योगधन्दा छिन्नभिन्न
पार्टी उद्योगले व्यापार विस्तार गरेको छ
लोकतन्त्रको दुहाई दिंदै
महल अनि गाडी पटकपटक फेरेको छ

भ्रष्टाचार त पहिचान भो
कुरा विकास र समृद्धिको गरेको छ
उन्नतिका सपना थिए
तर देश झनझन् तल झरेको छ

मेरो देश आज पीडामा परेको छ

दल अनि गुटको आपसी घृणामा परेको छ
राम्रा भन्दा हाम्राको क्रीडामा परेको छ

-टोरन्टो, क्यानाडा