बैंसमा जात

Photo 1

रविन्द्र घिमिरे , टोरोन्टो

तिम्रो मुस्कान ? चल्छ नि रत्नमाया  |

तिम्रो शीरको गुराँस ? त्यो पनि चल्छ |

त्यति मात्र होइन नि रत्नमाया !

तिम्रो सुवास असाध्यै चल्छ |

तिम्रो सिप , सबैतिर  चल्छ |

तिम्रो अदप, सबैलाई चल्छ |

तिम्रो भित्रि सुसार,अघोर चल्छ |

त्यसैले त रत्नमाया यो मनले घरि घरि

 तिमीलाइ नै  बोलाई रहन्छ |

तिमी आइ राख, मेरा आँखामा धाई  राख |

सुन न रत्नमाया !

तिमी आऊ कि  तर

तिमी आउँदा  तिम्रो जात न ल्याउ है |

तिमी आउँदा  तिम्रो दर्जा न ल्याउ है |   

तिमी आउँदा  तिम्रो वर्ग न ल्याउ है |

तीमी आउदा तिम्रो बर्ण न ल्याउ है |

किन नि रत्नमाया ?!

जब म  तृसणामा गंगास्नान गरि रहन्छु ,

तब ,

मलाई  तिम्रो जात भन्दा तिम्रो यौवन ऒधि मनपर्छ |

मलाई  तिम्रो बर्ण भन्दा तिम्रो खितखित ऒधि मनपर्छ |

मलाई  तिम्रो खोपी को वास् भन्दा तिम्रो सुगन्ध ऒधि मनपर्छ |

छ  नि रत्नमाया !

म त  जातले ठुलो मानेको  मान्छे !

म त तिम्रा बा बाजे ले पनि  मानेको मान्छे |

म ठाउँ ठाउँमा अगाडि अगाडि हिडेको मान्छे |

म  तिमीलाई छुट्टै पानी दिने मान्छे |

म तिमीलाई छुट्टै भगवान दिने मान्छे |

बुझ्यौ नि रत्नमाया !

तिम्रो छुट्टै ईनार तिमी अलग्गै पानी पिउने |

तिम्रो छुट्टै मन्दिर, तिमी  अलग्गै पुजा गर्ने |

मलाई घरिघरि मनलाग्दा तिम्रो ईनारको पानी पिउने |

मलाई मन लाग्दा तिम्रो मन्दिरमा म  देवता बनेर आउने |

म तिम्रो अन्न दाता तिम्रो जीवन दाता सम्झी रहनु है |

छ नि रत्नमाया !

एकान्तमा निस्फिक्री मन संग मन मिलाउन  नि हुन्छ |

निर्धक्क तिम्रो शिर को गुराँश चुम्न नि हुन्छा |

तिम्रो यौवन को रापमा  मेरो मैन तप्तपी  पगाल्न नि हुन्छ |

तर एउटा कुरा  नि रत्नमाया !

तिम्रो यत्रो गुनको बदलामा ,

म तिमीलाई मेरो घरको पिढी अनि दलान पनि  कृपा गर्दिन नि

ओहो ! खुल्लम खुल्ला  एक चिम्टी सिन्दुर! अहँ  यो  हुदैं हुदैन |

तिम्रो रुप, यौवन र  मेरो तृप्ति  विनिमय मेरो भान्छा संग ?

अह रत्न माया ,यो हुदैं हुदैन ,यो जोर जुलुम  तिमी गर्दै नगर |

यसरि तिमी माथि माथि गर्धन तानेर आँखा ठुला पारेर  हेर्दै नहेर |

भोलि फेरी तिम्रो गर्धनमा घाउअनि आँखामा बादल  लाग्ला |

तिम्रो सफेत छातीमा ठुलो दाग लाग्ला नि रत्नमाया |