छोरी, उन्मुक्त भएर बाँच-सन्दर्भ- नारी दिवस – अनुप ‘आयु’

    

बाँच छोरी बाँच

एक सशक्त नारी

भएर बाँच

पुरुषत्वहरु बीच

नारी हुनुको

पूर्ण औचित्य साँच

बाँच छोरी बाँच

न कुनै दिवस, न कुनै होड

न कुनै बन्धन, न नै कुनै जोड

पीडितहरुको अवशेष बीच

उन्मुक्त भइ बाँच

अमूल्य त्यो जीवन

नारी नै भै साँच

छोरी, नारी नै भै साँच

बाँच छोरी बाँच

एक सशक्त नारी

छोरी अकिभा, माया

बाबाले माथिको कवितांश लेख्दै गर्दा सायद तिमीले बुझिसक्यौ होला म के भन्दैछु भनेर। यो कुरा लेखिरहँदा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस समाप्तीको सन्ध्यामा प्रवेश गरिसकेको छ।

भन्नै पर्दा यो दिन सधैं मेरा लागि कष्टकर रहने गर्दछ। संसारले धुमधामसाथ नारी दिवस मनाइरहँदा मेरो हृदयको एउटा कुना तिम्रो उज्ज्वल भविष्यमा लाग्न गइरहेको त्यो कालो दाग देखेर दुःखी छ।

हामी जुन समाजमा बस्छौं, त्यो समाज किन तिमीमाथि यत्रो अन्याय गर्न उद्यत छ? किन तिमीलाई क्रमशः दोस्रो दर्जाको नागरिक बनाउन लागिपरेको छ? किन तिमी निर्बलै रहनुपर्छ भन्ने मान्यता अनुसारै एउटा बलियो आधार निर्माण गर्दैछ।

म सशंकित छु, दिवसको एउटा मिहिन तर कसिलो जालो फ्याँकेर लाखौं लाख छोरी, नारीहरुलाई अन्धकारमा राख्ने अदृश्य योजनाप्रति, सशंकित छु बलियोले कमजोरप्रति गरिने हैकमलाई कायमै राख्ने ती दुर्नियतहरुप्रति। यो कुरा सम्झेर मात्रै पनि मेरो मन भतभती पोलिरहेको छ। तर अफसोच त्यसबाट परिचालित हुनबाट रोकिन म स्वयं सकिरहेको छैन।

तिमीलाई त्यस दलदलमा फस्नबाट रोक्न असमर्थ छ यो पिता। विश्वास गर छोरी, नारी उन्मुक्तिको नाममा तिम्रो स्वतन्त्रता खोसेर तिमीलाई एउटा बलियो सिक्रीले बाँध्ने कोसिस गरिंदैछ। म त बस् यति मात्र भन्न सक्छु निस्क छोरी निस्क, त्यस दलदलबाट निस्क।

छोरी,

लेखौं कि नलेखौंको अन्तर्द्वन्द्वबीच लेख्दै छु। जब तिमी ठुली हुन्छौ, बाबा.. तिम्ले आफ्नो कर्तव्य किन गरेनौको प्रश्न बर्साउँछौ भन्ने चिन्तनले लेख्न बाध्य गरायो। मलाई थाहा छ यहाँ व्यक्त मेरा भावनाविरुद्ध बग्रेल्ती विमतिका स्वरहरु उठ्ने छन् तर तिमी प्रतिको कर्तब्यबोधले मैले लेख्न छोड्नु पनि त भएन नि।

म ती स्वरहरुको उचित जवाफ दिन सक्नेछु भन्ने विश्वासका साथ आज यो कोर्दैछु। हो छोरी, सजिलो छ दिवस मनाउन तर त्यस भित्रका मसिना र गहिरा स्वार्थका छिद्रहरु नियाल्यौ र बुझ्ने प्रयत्न गर्यौ भने तिमीले मेरो विचार अवश्य बुझ्नेछौ। तल केही बुँदागत दृष्टान्तहरुले मेरा भनाइहरु बुझ्न सजिलो हुनेछ भनी यो सानो प्रयास गर्दैछु।

हिजो बाटोमा हिंड्दै गर्दा नारीवादी आन्दोलनका अभियन्ता आदरणीय एक दाइसित भेट भयो। केही छिनको भलाकुसारीपछि मेरो मनमा खट्किरहेको एउटा प्रश्न गरें– ‘दाइ, तपाईं कहिलेकाहिँ बाटोमा मागेर बसेकालाई भीख दिनु हुन्छ?’

उहाँले हो दिन्छु, किन र भाइ? भनेर सोध्नुभयो।

मेरो प्रश्न अगाडि बढ्यो, ‘किन दिनुहुन्छ?’

‘उनीहरु गरिब छन्, खान लाउन नपुगेर माग्न बसेका छन्, सकेको अलिकति दिएर कसैको कल्याण हुन्छ भने किन नदिने?’

जवाफले चित्त बुझेन र पुनः सोधे– ‘त्यो माग्ने मानिसले तपाईं उभन्दा धनी, दिन सक्ने सामर्थ्य भएको देख्यो र माग्यो अनि तपाईंलाई पनि उ आफूभन्दा अलिक असक्षम अर्थात् गरिब लाग्यो र दिनु भयो। दिने र माग्ने बीचको मुख्य सार यही होइन र?’

उहाँले भन्नुभयो, ‘खै त्यो त म कसरी भनौं तपाईं आफै बुझ्नुस्।’

मेरो प्रश्न रोकिएन। ‘त्यसोभए यो नारी दिवसलाई कसरी हेर्नुहुन्छ?’

मेरो प्रश्नको आशय उहाँले बल्ल बुझ्नुभयो र अगाडिको छलफलमा सहभागी हुन चाहनु भएन।

माफ गर छोरी एउटा कठोर र अप्रिय उदाहरण पेश गरेकोमा, तर जब तिमीलाई तिम्रो अधिकार अमुक दिनमा नै सही माग हो भनेर सिकाइन्छ। तिम्रो सक्षमता र असक्षमता तिमीमा मात्र लागू हुन्छ को उदाहरण देखाइन्छ भने त्यो तिमीप्रति लैङ्गिक विभेद हो। तिम्रो नारीत्वप्रति अन्याय हो। हो, यही कुरा मैले तिमीलाई बुझाउन खोजेको, सम्झाउन खोजेको।

हुन त तिमीलाई यस्तो जिज्ञासा पनि लाग्ला, ‘यो त समग्र नारी जातिको अपमान भएन र बाबा?’

होइन छोरी, तिमीलाई बुझ्न र बुझाउन सजिलो होस् भनेर मात्र यी कठोर शब्दहरु सापटी लिएको हुँ। तिमीलाई थाहा छँदैछ नि छोरी ‘यत्र नार्य पुज्यते तत्र रमन्ते देवता’ भन्ने वाक्यांश हामीले प्रयोगमा त धेरै ल्यायौं तर जीवनमा भने त्यसलाई उचित स्थान दिन सकेका छैनौं र घरमा सजिएर बस्ने बस्तु मात्र ठान्दियौं। म छोरीको पिता हुँ, श्रीमतीको पति हुँ र सबैभन्दा ठूलो आमाको छोरा हुँ, त्यतिसम्म धृष्टता गरौंला त?  सत्य कठोर हुन्छ छोरी, सुन्ने, बुझ्ने र आफूमा लागू गर्ने प्रयत्न गर जीवन सफल हुनेछ।

क्यानाडा जस्ता देशहरुका मुख्य सडक चोकहरुमा मागेर बस्ने प्रशस्त दृश्यहरु तिमीले प्रायः देखेको नै हौली। के तिमीलाई थाहा छ ती माग्न बसेकाहरु खान लाउन वा बस्ने ठाउँ नभएर माग्न बसेका होइनन् भनेर? (एक दुई बुढाबुढी वा शारीरिक व्यवधान भएकाहरुको कुरा म गर्दिन, त्यतातिर नजाउँ) मेरो सजगता तन्नेरी, हट्टाकट्टा र शिक्षित देखिने त्यस्ता वर्ग हुन् जोसित बल, उमेर, शिक्षादिक्षा र तालिम सबै छ र प्रमुख कुरा यिनीहरुलाई सरकारको तर्फबाट यावत व्यवस्था (बेरोजगारी भत्ता, बृद्ध भत्ता, एकल अभिभावक भत्ता र अरु पनि थुप्रै) पनि छ।

यति हुँदाहुँदै पनि यिनीहरु आफूलाई किन कमजोर र अशक्त देखाउँदै माग्न बसेका? हो छोरी, यो एउटा प्रवृत्ति हो, माग्ने प्रवृत्ति र ठ्याक्कै यही प्रवृत्ति हो नारी दिवस पनि। जहाँ तिम्रा अधिकारहरु तिम्रा दाइहरु भन्दा बढी छन्, जहाँ सरकारले कानुनी रुपमा भेदभाव गरेको छैन, जहाँ नारीमैत्री समाज छ, जहाँ समानता नारी भएको कारणले मात्र दिइएको होइन अपितु सुक्ष्म र वैज्ञानिक अनुसन्धान गरिएर सबलता र सक्षमता प्रमाणित भएर निर्धारण गरिएको हो, त्यहाँ यस्ता दिवसहरुले फगत तिम्रो अस्तित्व ठ्याक्कै त्यही तन्नेरी, हट्टाकट्टा र शिक्षित वर्गका माग्ने सरी बनाइदिन्छ।

के तिमी आफूमा भैरहेको यत्रो ठूलो अपमान सहन गर्न सक्छौ? के यो तिमीप्रतिको अन्याय होइन? अझै पनि यहाँ नारीहरुले आफ्नो अधिकार यसैगरी मागी रहनु पर्ने हो? यसरी आफ्नो अवमूल्यन हुन नदेउ र उठ यसको विरोध गर।

हो छोरी, म मान्छु यो संसार विभेदमुक्त छैन। थुप्रै नारीहरु अझ पनि असमानताका खाडलमा पुरिन बाध्य छन्। तिमीलाई सुनेर नै अचम्म लाग्ला कि यहाँ यस्ता पनि देश अस्तित्वमा छन् जहाँ नारीहरुलाई पुरुष बराबरी ठानिदैन, पुरुषबिना एक्लै बाहिर निस्कन दिइँदैन, गाडी चलाउन र मत हाल्ने अधिकार छैन, पुरातन शैलीमा जीवन साथी रोज्न दिइँदैन, विचार प्रकट गर्न दिइँदैन।

हो, कति हो कति यस्ता बाधा अड्चन छन् ती देशहरूमा, समाजहरुमा। हो त्यस्तो देशहरुमा मनाउने हो नारी दिवस। त्यहाँ जनस्तरमै नारी जागरुकता अभियान चाहिन्छ। प्रदर्शनी चाहिन्छ र सरकारी स्तरमा तालिम चाहिन्छ। यी कुरामा दुई मतै रहेन तर जब हामी क्यानाडा र यस्तै विकसित मुलुकको कुरा गर्छौं तब म पुनः प्रष्ट्याउन चाहन्छु यी मुलुकहरुमा नारी अधिकार पुरुष अधिकारभन्दा धेरै बढी छ जसबारे यहाँका बासिन्दालाई मजाले ज्ञान छ र साँचो अर्थमा भन्ने हो भने त्यस कुरामा अधिकांश पुरुष समाज रमाएका नै छन्।

राज्यले विभेद गर्नु भएन र जुन राज्यमा नारीमैत्री कानुनहरु छन्, सुसूचित समाज छ त्यहाँ यस्ता दिवसहरु मनाउनु आफैंले आफ्नो आशक्तिपना देखाउनु बाहेक केही होइन। आफ्नो कुण्ठाग्रस्त मानसिकतालाई आँउदो पुस्तामा सार्ने रोग मान्छु म त्यो र आफूभन्दा अरु सक्षम छन् भनेर प्रमाणित गर्नु बाहेक अरु केही देख्दिन म। वर्षमा एकपटक मनाइने यस्ता दिवसहरुको औचित्य कमसेकम म देख्दिन।

भर्खरैको कुरा हो, नेपालकी मुस्कान खातुनको एसिड आक्रमण घटना। उनले दिगो तवरले त्यसको प्रतिवाद गरिन् र सबल कानुन बनाउने दिशामा अनुकरणीय उदाहरण बनिन्। त्यसैको फलस्वरुप प्रतिष्ठित अमेरिकी संस्थाले उनको आत्मबल अझ दरिलो बनाउन सम्मान समेत गर्यो।

अमेरिकामा नै पनि आजसम्म कोही नारी राष्ट्रपतिको उच्च पदमा आसिन हुन पाएका छैनन्। केही वर्षअघि हिलारी रोधाम क्लिन्टन झन्डै झन्डै राष्ट्रपति भैसकेकी थिइन् तर प्रतिस्पर्धामा डोनाल्ड ट्रम्पसित हारेर पहिलो महिला राष्ट्रपति हुने सौभाग्य गुम्यो तर कहीँ कतै न उनले वा कुनै अन्य अमेरिकी नारीहरुले उनी नारी भएकै कारणले  यो अवसरबाट बन्चित गराइयो भनिएको सुनिएन।

हो यो सोचबाट अघि बढ छोरी यो सोचबाट। हेक्का राख, जुन देशमा तिम्रा लैङ्गिकता हेरेर होइन तिम्रो क्षमता हेरेर अधिकारहरु निर्धारण गरिएको छ, कानुनहरु बनाइएको छ, सामाजिक संरचनाहरु विकसित गरिएको छ त्यस्ता देशमा यस्ता दिवसहरुले तिम्रो आफ्नै अस्तित्व कमजोर बनाउँछ, विलिन बनाउँछ।

केही समय पहिलेको कुरो हो, भारतकी स्वाती खन्ना भन्ने एउटी महिलाले सामाजिक संजालमा आफूलाई अपशब्द लेख्नेलाई संयुक्त अरब इमिरेट् भन्ने देशबाट निकाला गर्न लगाएर भारतमा समेत कानुनी दायरामा ल्याउन उचित र सफल पहल गरेको समाचार पढ्न पाइयो।

त्यस्तै क्यानाडाले हालै एक अश्वेत महिला भिओला डेसमण्डलाई सम्मान दिदै उनको तस्बिर अंकित डलर १० नोट जारी गर्यो। कयौं वर्ष पहिले उनले क्यानाडाका सेतो समुदायले काला समुदायसित गरेको अन्यायको विरुद्ध लडी समानान्तर अधिकार पाउन  पहल गरेकी थिइन्। म आफैं सरिक रहेको नेपाली साहित्य समाजको साधारण सभाको पदीय दायित्व बोक्ने अवसरमा जब एक स्वाभिमानी नारीलाई नारी भएकै कारणले मात्र पदीय दायित्व लिन आग्रह गरियो। उहाँको ‘म सक्षम छैन भने नारी भएकै कारणले मात्र अनुरोध गरिएको यो पदीय दायित्व ग्रहण गर्दिन’ भन्ने जवाफले हामी नाजवाफ भयौं।

हो, गर्नु पर्ने यो हो नि। समाज परिवर्तनका अब्बल स्तम्भ हुन् माथिका उदाहरण। यस्ता अनेक अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन् नारीहरुले। मेरो सम्मान छ ती आँटिला, जोसिला र साहस भएका नारीहरुप्रति। याद राख सिक्नु र अनुसरण गर्नुपर्ने कुराहरु हुन् यी।

हाम्रो वरिपरि सामाजिक असमानजस्यता धेरै छन्। तिनलाई चिर्नुपर्ने चुनौती चाहिँ अवश्य छ तिमी सामु। त्यसमा दिगो भइ उभिनु।

तिमी हुर्कंदै गर्दाको एउटा कथा सुनाउँछु। तिमी दुई वर्षकी हुँदाको कुरा हो। छिमेकी दाइकहाँ तिहार मनाइरहँदा टुप्लुक्क पुगियो। उहाँको पनि तिम्रै उमेरकी छोरी थिइन्। त्यहाँ पुग्दा ती छिमेकी दाइले भाउजूलाई सम्झाएको कुरा उल्लेख गर्न चाहन्छु।

आफ्नी ती सानी छोरीलाई देखाउँदै उहाँले भनेको सुनें, ‘जब हाम्री छोरी ठूली हुन्छिन्, उनमा आउने शारीरिक परिवर्तन रजस्वला सम्बन्धी आडम्बरहरु तेर्स्याएर हाम्रा चाडपर्वहरु रोक्ने शिक्षा नदिनू। रजस्वला प्रत्येक वयस्क नारीमा हुने प्राकृतिक र पवित्र गुण हो त्यस्लाई भगवानको नाम दिएर अपवित्र चलनको निरन्तरता नदिनु त्यही नै साँचो अर्थमा नारीप्रति सम्मान हो।’

म सुनेर अवाक भए। हो परिवर्तन यहाँनेर हुनुपर्छ, भिक्षाम्देही दिवस मनाएर हुने केही होइन। त्यो दिवसको आवश्यकता जहाँ छ त्यहाँ मनाउनु पर्छ भन्नेमा दह्रो समर्थन पनि गर्छु म। स्मरण रहोस्, शारीरिक भिन्नता असमानताको सूचक हुनु हुँदैन, समाजलाई यति कुरा बुझाउन सके अलग्गै कुनै दिवस मनाउनु पर्दैन र म यही कुरा तिम्रो र मेरो समाजलाई बुझाउन आन्दोलनरत छु छोरी।

छोरी, तिमी यस भूगोलकी अमूल्य रचना हौ। तिम्रो सिर्जना बरदान हो समस्त मानव जातिका लागि। तिमीले नारी भएर कुनै पाप गरेकी छैनौ। अपराध गरेकी छैनौ। माथि नै भने, कसैले तिमीलाई नारी भएकै कारणले कमजोर देख्ला, बुझ त्यो त्यस मनुष्यको एकल विचार हो, व्यक्तिको कुरा हो, बलियोले कमजोरलाई हेपेको प्रमाण हो।

याद राख, तिमी कमजोर छैनौ र मुख्य बुझ्नु पर्ने कुरा के हो भने राज्यले तिमीलाई कसरी हेरेको छ? के त्यहाँ कुनै कमजोरी छ वा विभेद छ? हो, छ भने उठ र आवाज उठाऊ होइन भने विन्ती छ, फगत नारी दिवसको नाममा मेरा सम्पूर्ण मान्यजन नारीहरुलाई कमजोर नबनाउ, असक्षम नबनाउ, मगन्ते नबनाउ। मेरो यति कुरा बुझ्नेछौ भन्ने आशामा…

तिमीलाई सधैं माया गर्ने बुबा।

अनुप ‘आयु’

-टोरन्टो, क्यानाडा